पुस २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो। सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो। ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो। ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए। जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो।
बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन। र, लिभरपुलले सिजनको दोस्रो हार व्यहोर्न पुग्यो। यस हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ।
लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ। साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ। साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ। एजेन्सी


























