दाङ, पुस १६ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा पुगेको छ। दाङको लमहीमा भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो। खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले वाग्मतीलाई ७७ रनको लक्ष्य दिएको थियो। तर वागमतीले ११ ओभरमा ९ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनायो।
वाग्मतीकी सुमन खतिवडाले २७ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमको जितमा कविता जोशी सर्वाधिक सफल खेलाडी बनिन्। कविताले ह्याट्रिकसहित पाँच विकेट लिइन्। उनले आठौँ ओभरका दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिइन्।
अहिले प्रदेश १ र गण्डकीबीच खेल भइरहेको छ। गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह ए बाट एपीएफ र लुम्बिनी तथा समूह बी बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइलनमा पुगिसकेका छन्। सेमिफाइलनका दुवै खेल पर्सि शनिबार हुनेछन्। फाइनल खेल १९ गते आइतबार हुनेछ।


























