चितवन, पुस १६ । आम सञ्चारका माध्यमहरुमा रेडियो पुरानो माध्यम भएपनि यसको लोकप्रियता भने अझै कमजोर बनिसकेको छैन। हुन त परम्परागत तरिकाबाट रेडियो सेट राख्ने तथा सुन्ने श्रोताको संख्यामा कम हुँदै गएको छ। तर सूचना प्रविधिको विकाससँगै रेडियो सुन्ने नयाँ शैली पनि विकास हुँदै गएको छ। रेडियो फ्रिक्वेन्सी अर्थात विद्युतीय चुम्बकीय तरंगमार्फत प्रसारण हुने भएकैले नै यसको नाम रेडियो तथा एफ एम रहन गएको हो।
तर रेडियोहरु आफ्नो विरासतबाट बाहिर निस्किँदै अनलाइनमा सुनिन थालेका छन्, चाहे त्यो सम्बन्धित रेडियोको वेबसाइट होस् वा हाम्रो पात्रो जस्ता मोबाइल एप। त्यसो त केही रेडियोहरुले आफ्नै मोबाइल एपबाट समेत प्रशारण गरिरहेकै छन्।
तर नेपालकै सबैभन्दा धेरै प्रयोग हुने एप ‘हाम्रो पात्रो’ले देशभरका करिब सबै रेडियोलाई एकै स्थानमा ल्याएको छ। आजभन्दा करिब ८ वर्ष अघि अर्थात सन् २०१३ मा रेडियो प्रसारण आफ्नो प्लेटफर्ममा समेटेको हाम्रो पात्रोमा अहिले चार सयभन्दा बढी रेडियो उपलब्ध छन्। परम्परागत विधि अर्थात रेडियो सेटबाट रेडियो सुन्ने कुरामा आफ्नै किसिमका सीमितता छन्। सम्बन्धित रेडियोको फिक्वेन्सी नलाग्ने स्थानमा सुन्नै सम्भव नहुने।
तर अनलाइनमै रेडियो उपलब्ध भएपछि देशभित्र मात्र होइन, विश्वभर जहाँ भएपनि स्थानीय सबै रेडियो सुन्न सकिने भएको छ। यसका लागि रेडियो सेट साथमा बोकिरहनुपर्ने झन्झट पनि भएन।
कम ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाटै हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ। यस्तै किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या बढ्दो छ। कम्पनीका अनुसार हाम्रो पात्रोको एपबाट हाल दैनिक चार लाखले अनलाइनमा रेडियो सुन्ने गरेका छन्। जसमध्ये २ लाख ५० हजार विदेशमा छन्।
देशभित्र पनि उपत्यका बाहिरबाट एपमा रेडियो सुन्नेहरु धेरै छन्। हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो प्लेटफर्मा लाइभ स्ट्रिमिङ गर्दै आएको छ। यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराए पुग्छ । त्यस वापत कुनै शुल्क समेत तिर्नुनपर्ने हाम्रो पात्रोले जनाएको छ।
गत एक वर्षयता एपले रेडियोका श्रोताको संख्या समेत एपमै हेर्न सकिने व्यवस्था मिलाएको छ। जसअनुसार यस अवधिमा हाम्रो पात्रोमा उज्यालो रेडियो नेटवर्क, रेडियो कान्तिपुर र कालिका एफएम एक करोडभन्दा बढी पटक सुनिएका छन्।
यी रेडियो सुनिएको संख्या क्रमशः एक करोड २६ लाख, एक करोड १७ लाख र एक करोड ७ लाख रहेको छ। हाम्रो पात्रो अहिले अनेक थरीका सेवा एउटै स्थानमा उपलब्ध गराउने ‘इन्टिग्रेटेड’ एपको रुपमा परिचित हुँदै गएको छ। यसमा सञ्चारका सबै माध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन न्युज पोर्टल समेत जोडिएका छन्।