काठमाडौं, पुस १६ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबारदेखि सुरु हुने राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकको कार्यसूचीका विषयमा छलफल गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजे अधिवेशन आव्हान गरेकी छन्। पहिलो बैठकको कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बिहीबार नयाँबानेश्वरमा बसेको हो।
कार्यसूचीअनुसार शुक्रबारको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ। मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामा सुनाइनेछ भने सरकारबाट जारी भएका अध्यादेशहरुबारे राष्ट्रिय सभामा जानकारी दिइनेछ। राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको समिति गठनसम्बन्धी आदेश पनि पेश हुने कार्यक्रम रहेको छ।
थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुने भएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन पनि पेश हुने कार्यसूची तय हुने छ।
अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त गर्ने निर्णय समितिले गरेको छ। छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि कार्यव्यवस्थाले पारित गरेको छ।


























