मंसिर १४ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
बेनेभेन्टोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड्न बाध्य भएको हो। खेलको २१ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो। तर, पहिलो हाफको इन्जुरी समयमा गाईटानो लेटिजियाले गोल गर्दै बेनेभेन्टोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफमा दुबै टिमले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।
यस्तै खेलको इन्जुरी समयमा मोराटाले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो। यस बराबरीसँगै युभेन्ट्सले ९ खेलमा १७ अंक जोडेको छ। युभेन्ट्स पाँचौं स्थानमा रहेको छ। बेनेभेन्टो १० अंक जोडेर १२ औं स्थानमा रहेको छ। अर्को खेलमा हेलास भेरोनाले एटलान्टालाई २-० ले हराएको छ। एजेन्सी


























