काठमाडौं, मंसिर १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ। बैठक भोलि दिउँसो १बजे बालुवाटारमा बस्ने जनाईएको छ। यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गरेका थिए। तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएको र अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लाञ्छाना लगाईएको भन्दै विरोध भएको थियो।
अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए। मंसिर ३ गते बसेको बैठकमा ओलीले १० दिनको समय माग गरेका थिए। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले भोलिको बैठकमा पेश हुनेछ।
यसअघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ समेटेर पार्टीको समस्या समाधानमा प्रस्ताव उन्मुख रहेको बालुवाटार स्रोतले बताएको छ।


























