मंसिर ७ । इर्लिङ हालाण्डले चार गोल गरेको खेलमा बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा शानदार जित निकालेको छ। शनिबार भएको खेलमा हालाण्ड प्रेरित डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो।
हालाण्डले यस सिजन देश र क्लबका लागि १७ खेलमा २१ गोल गरेका छन्। हालाण्डले १५ मिनेटका अन्तरमा ह्याट्रिक गर्दै डर्टमण्डलाई सहज अवस्थामा पुर्याएका थिए। डर्टमण्डले जितसंगै शीर्ष स्थानको बायर्न म्युनिखसंग अंक दुरी घटाएको छ। शनिबारमात्रै बायर्नले भेरडाआ ब्रेमेनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। राफेल गुएरेइरोले डर्टमण्डका लागि एक गोल थपेका थिए। ब्राजिली विङ्गर म्याथुस कुन्हाले हर्थाका लागि दुवै हाफमा एक एक गोल गरेका थिए।
डर्टमण्डका प्रशिक्षक लुसिएन फेवरेले यूसुफ मौकोकोलाई सिनियर टिमबाट डेब्यु गराएका थिए। डर्टमण्डका भविष्यका स्टार मानिएका मौकोकोले १६ वर्ष पार गरेपछि सिनियर टिमबाट डेब्युको अवसर पाएका हुन्।
उनी जर्मन क्लब फुटबलका नयाँ आकर्षक हुन्। उनी जर्मन क्लब फुटबलमा सिनियर टिमबाट व्यवसायीक फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।
क्यामरुनमा जन्मिएका जर्मनका युवा खेलाडी मौकोकोले क्लबको युथ टिमबाट ८८ खेलमा १ सय ४१ गोल गर्दै सबैको ध्यान खिचेका थिए। त्यसैले उनी जर्मनको क्लब फुटबलमा भविष्यका ठुला स्टार मानिएका छन्।
उनलाई अन्तिम ५ मिनेट प्रशिक्षकले वैकल्पिक खेलाडीको रुपमा मैदान छिराएका थिए। निकै लयमा देखिएका डर्टमण्डका स्टार हालाण्डले भने पछिल्ला ६ खेलमा १० गोल गरेका छन्। अन्तराष्ट्रिय बिश्राम अघि डर्टमण्डले बायर्न म्युनिखसंग ३–२ को हार ब्यहोरेको थियो।
डर्टमण्डले शनिबार राति शानदार जित सहित शीर्ष स्थानको बायर्नमाथि दबाब बढाएको छ। बायर्न १९ अंक सहित शीर्ष स्थानमा छ। डर्टमण्ड १८ अंक सहित दोस्रो स्थानमा छ। डर्टमण्ड मंगलबार च्याम्पियन्स लिगको खेलमा मैदान उत्रदैछ। उसले घरेलु मैदानमा क्लब ब्रुगिसलाई आतिथ्यता प्रदान गर्दैछ। एजेन्सी


























