कार्तिक २६ । भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ। भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको छ।
बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ। आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने गरेका छन्। तर, १४ औं संस्करणमा टिम संख्या बढाउने तयारी गरिएको हिन्दुले जनाएको छ। यस्तै आगामी सिजनको लागि नयाँ अक्सन गराउने समेत बीसीसीआईले तयारी गरेको छ।
‘क्रिकेट बोर्ड (बीसीसीआई) को तयारी आउने संस्करणमा ९ टिम खेलाउने छ,’ बीसीसीआई एक अधिकारीले भनेका छन्, ‘त्यसको लागि अक्सन वर्षको सुरुवातमा हुनेछ।’
कोरोना महामारीको कारण १३ औं संकरणको आईपीएल युएईमा भएको थियो। तर, आगामी सिजन भने भारतमै आयोजना हुने बताईएको छ। दुबईमा मंगलबार सम्पन्न १३ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ। मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि उचालेको हो। एजेन्सी


























