काठमाडौं, कार्तिक २४ । डेढ महिनादेखिको विवादमा संस्थापन पक्षसँग सैद्धान्तिक सहमति भएपछि सोमबार कांग्रेसका पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ। बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छलफल, १६ बुँदेमाथि संस्थापनको धारणा र महाधिवेशनको पूर्वतयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ।
बैठक जुममार्फत दिउँसो १ बजे बस्ने पौडेल पक्षका एक नेताले जानकारी दिए। ती नेताका अनुसार देउवाले विधानविपरीत गठन गरेको विभाग खारेज नगर्ने भनेपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। हिजो देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकले पौडेल समूहले उठाएको १६बुँदे मागमा सैद्धान्तिक सहमति भएको थियो।
सभापति देउवाले विधानविपरीत चारवर्षे कार्यकाल गुज्रिसकेपछि महाधिवेशनको मुखको गठन गरेका विभागको खारेजी गर्न भने मानेका छैनन्। बैठकमा केन्द्रीय समितिको बैठकका सम्बन्धमा समेत रणनीति बनाउने बताइएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी बिहीबार बस्दै छ।


























