काठमाडौं, कार्तिक २४ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिव वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ रहने भएको छ। बंगालदेश फुटबल फेडेरेशन (विएफएफ) ले आइतबार नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेलको नाम घोषणा गरेको हो।
बंगलादेशका राष्ट्रपिता भनेर चिनिने बंगबन्धु शेख मुजीबुर रहमानको १०० औं जयन्तीको अवसरमा मैत्रीपूर्णको नाम घोषणा गरिएको हो। बीएफएफका अध्यक्ष काजी मोहम्मेद सलाहुद्धिनले मैत्रीपूर्णको नाम घोषणा गरेका थिए। नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन। २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो। विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ।

























