काठमाडौं, कार्तिक २४ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको बताएको छ। समितिले मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ। कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ। सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औंसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। आइतवार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ।
म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन्। सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन्।
भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले बताएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए। यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ।
शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मंसिर १ गते नै मनाइन्छ। मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ। शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ। यसैले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ।
मंसिर महीनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले बताएको छ। शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ। भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले बताएको छ। रासस

























