काठमाडौं, कार्तिक २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएकाछन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताए। गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहनुभएका मन्त्री भट्टराईले आज मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उहाँहरु पार्टी एकताकै पक्षमा रहनुभएको बताए। पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चारजना नेता नेकपामा रहकाले उहाँहरु नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताए।
उनले पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको बताए। पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए। पार्टी एकताकै विषयलाई लिएर अन्तर्संङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पङ्क्तिलाई उनले विश्वास दिलाए।
यता स्थानीय कार्यकर्ताले कुनै पनि हालतमा पार्टी फुट्न नहुने बताएका छन्। हाल शीर्ष नेतृत्वबीच भइरहेको द्वन्द्वको प्रभावले सकारात्मक सन्देश नदिएको बताउँदै कार्यकर्ताले पार्टी एकताका मन्त्री भट्टराईमार्फत पार्टीका अध्यक्षद्वयलाई दबाब दिएका छन्। ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहनुभएका मन्त्री भट्टराईसमक्ष मिक्वाखोला गाउँपालिकाका कार्यकर्ताले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन्। रासस

























