कार्तिक १३ । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (बिहीबार) विभिन्न २४ खेलहरु हुँदैछ। युरोपा लिगमा बिहीबार विभिन्न १२ समूहका २४ खेलहरु हुने छन्।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको दोस्रो खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको आर्सनलले घरेलु मैदानमा डुनडल्कसँग खेल्नेछ। घरेलु मैदानमा आर्सनल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा आर्सनलले अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले हराएको थियो। डुनडल्क भने मोल्डेसँग २-१ ले पराजित भएको थियो। टोटेनहमले बेल्जियन क्लब रोयल एन्ट्वर्पसँग उसैको मैदानमा खेल्नेछ।
समूह ‘जे’ को टोटेनहमले पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३-० ले पराजित गरेको थियो। त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले ग्रिक क्लब एइके एथेन्ससँग उसैको मैदानमा खेल्नेछ। समूह ‘जी’ को लेष्टरले पहिलो खेलमा युक्रेनी क्लब जोर्यालाई ३-० ले हराएको थियो।
इटालियन क्लब एसी मिलानले स्पार्टा प्राग्वेसँग घरेलु मैदानमा खेल्नेछ। समूह ‘एच’ को मिलानले पहिलो खेलमा सेल्टिकलाई ३-१ ले हराएको थियो। अर्को इटालियन क्लब नापोलीले स्पेनिस क्लब रियल सोसिडाडसँग खेल्नेछ।
समूह ‘एफ’ नापोली पहिलो खेलमा एजे अल्क्मारसँग १-० ले पराजित भएको थियो। सोसिडाडले भने रिजिकालाई १-० ले हराएको थियो। रोमाले सीएसकेए सोफियासँग खेल्नेछ। त्यस्तै स्पेनिस क्लब ग्रानडाले थिसलोनिकी एफसीसँग खेल्दा भिल्ला रियलले काराबागसँग खेल्नेछ। जर्मन क्लब बायर लेवरकुसनले स्लाभिया प्राग्वेसँग खेल्दा होफेनहाइमले जेन्टसँग खेल्नेछ। एजेन्सी


























