कार्तिक ११ । किङ्स इलाभेन पन्जाब आईपीएल टी-ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ। सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो। सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए। उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरे। मन्दिप ६६ रनमा अविजित रहे। यस्तै कप्तान केएल राहुलले २८ रन बनाए। कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे।
खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे। कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए। यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए। ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए। एजेन्सी

























