रौतहट। श्री हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँस्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर – ११ स्थित मैदानमा भएको फाइनल खेलमा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३-२ गोलले पराजित गर्दै च्यायम्पियन बनेकाे हाे। विजयी टीमकाे तर्फबाट प्रतियाेगिताका ‘म्यान अफ द म्याच’ दिवस श्रेष्ठले २ र अर्का खेलाडी विवस श्रेष्ठले १ गोल गरे भने प्रतिस्पर्धी टीम हिमालिबास फुटसल युवा क्लबका मादु र सरोज भुजेलले १-१ गोल गरे। म्यान अफ द म्याच दिवस श्रेष्ठले प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि हात पार्दै नगद १ हजार पाँच सय पुरस्कार हात पारे। उनले प्रतियाेगिताभर ८ गाेल गरेका थिए।

प्रतियाेगिताकाे उपाधिसंगै युथ स्टार क्लबले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात पार्याे भने हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पार्यो। विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा. अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे। दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए। प्रतियोगिताका मुख्य रेफ्रि समिर भुजेल थिए भने लाइन रेफ्रि अनिल श्रेष्ठ रहेका थिए। समापन कार्यक्रमको सन्चालन युवा समाजसेवी एन के शरदले गरेका थिए।

























