कार्तिक ९ । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ। क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो। रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एकरएक गोल गरे ।बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए।
खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए। यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन्। फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन्।
खेलको ६३औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए। बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो। जसमा रामोस चुकेनन्। त्यसपछि खेलको ९०औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए। जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ। रियलले ६ खेलमा १३ अंक जोडेको छ। रियलको यो चौंथो जित हो। हारसँगै बार्सिलोना ५ खेलमा ७ अंकसहित दशौँ स्थानमा रहेको छ। एजेन्सी


























