कार्तिक ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ। खयुनाईटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्नेछ। युनाईटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ। घरेलु मैदानमा युनाईटेड चेल्सीलाई हराउने लक्ष्यमा हुनेछ । तर, बलियो चेल्सीलाई हराउन युनाईटेडलाई कठिन देखिएको छ।
युनाईटेडलाई घरेलु मैदानको फाइदा भने हुनेछ। यस सिजन मिश्रित नतिजा निकाल्दै आएको युनाईटेडले ४ खेलमा ६ अंक जोडेको छ। तर, १५ औं स्थानमा रहेको युनाईटेड चेल्सीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ।
चेल्सीविरुद्ध युनाईटेडका फरवार्ड एडिनसन काभानीले डेब्यु गर्ने सम्भावना रहेको छ। उनी फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका हुन्। यस्तै ह्यारी मग्वाएर र मासन ग्रीनउड टिममा फर्कने छन्। तर, एन्थोनी मार्सियलले चेल्सीसँगको खेल गुमाउने छन्।
यस समरमा स्टार खेलाडी अनुबन्ध गर्न सफल चेल्सीले ५ खेलमा ८ अंक जोडेको छ। तालिकाको नवौं स्थानमा रहेको चेल्सीले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन। तर, ओल्ड ट्राफोर्डमा बलियो युनाईटेडलाई हराएर चेल्सी अंक तालिका सुधारको योजनामा हुनेछ। युनाईटेडविरुद्ध चेल्सीका गोलकिपर केपाले खेल्ने सम्भावना कम छ। तर, मुख्य प्रशिक्षक् फ्रान्क लाम्पार्डले हाकिम जियाचलाई सुरुवातमै मैदान उतार्ने सम्भावना रहेको छ। एजेन्सी


























