कार्तिक ७ । इटालियन जाइन्ट नापोली युरोपा लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ। बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा नापोली डच क्लब एजेट अल्कमारसँग १-० ले पराजित भएको हो। नापोली घरेलु मैदानमै डच क्लबसँग स्तब्ध भएको हो।
पहिलो रोजाईका सहित १३ खेलाडीलाई कोरोना देखिएपछि युवा खेलाडी मैदान उतारेको अल्कमारले इटालीमा महत्वपूर्ण जित निकालेको हो। अल्कमारको जितमा डानी डी विटले निर्णायक गोल गरे। सेभेन्सनको पासमा उनले ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
एक दर्जन बढी खेलाडीमा कोरोना देखिएपछि डच क्लब १७ खेलाडीसहित इटालीको भ्रमणमा निस्किएको थियो। जितसँगै समूह एफको अल्कमारले ३ अंक जोडेको छ। र, तालिकाको दोस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले रिजिकालाई १-० ले हराएको छ।
युरोपा लिग अन्तर्गत नै अर्को इटालियन क्लब रोमाले पुनरागमन जित निकालेको छ। समूह ‘ए’ को रोमाले योङ्ग बोईलाई २-१ ले हराएको हो। यस्तै समूह ‘सी’ मा रहेको जर्मन क्लब बायर लेवरकुसेनले फ्रेन्च क्लब निसलाई ६-२ गोल अन्तरले हराएको छ। स्पेनिस क्लब भिल्ला रियलले सिभास्पोरलाई ५-३ ले हराउदा ग्रानडाले पिएसभीलाई २-१ ले हराएको छ। एजेन्सी

























