कार्तिक ७ । आईपीएलमा क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ। यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
हैदराबादको जितमा पाण्डे र शंकरले अर्धशतकीय इनिङ्स खेले। पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए। पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे। यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।
राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए। यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे।
रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए। जोफ्रा आर्चर १६ रनमा अविजित रहे। हैदराबादका जोसन होल्डरले ३ विकेट लिए। विजय शंकर र राशिद खानले १र१ विकेट लिए। जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ। हैदराबाद तालिकाको पाँचौँ स्थानमा समेत उक्लिएको छ।
राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ। राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ। एजेन्सी

























