कार्तिक ३ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ। आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो। टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे। यस्तै सन ह्युङ मिनले एक गोल थपे। वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एकरएक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए।खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो। तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो। खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्याए।
खेलको ८५औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो। त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए।
वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका छन्। रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए। बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ। टोटेनहम तालिकाको छैठौँ स्थानमा रहेको छ। ५ खेलमा ७ अंक जोडेको वेस्ट ह्याम भने आठौं स्थानमा रहेको छ।


























