कार्तिक ३ । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो। जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनस् बराबरीमा सकियो।
त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो। जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो। १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो। सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए। दिपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। राहुल चाहरको नाममा २ विकेट रहयो।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै हार्दिक पाण्डयले ३४ रन जोड्दा कप्तान रोहित शर्मा ९ रनमा आउट भए। केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे। पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २र२ विकेट लिए। क्रिस जोर्डन र रबि बोस्नोईले १र१ विकेट लिए। जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो।
पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ। मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। पन्जाबको यो तेस्रो जित हो। पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ। एजेन्सी


























