कार्तिक १ । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो। शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए। हार्दिक पाण्डय २१ रनमा अविजित रहे। कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो। कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे। यस्तै सुबमन गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन जोडे।
मुम्बईका राहुल चाहरले २ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए। कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ। कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ। कोलकत्ताको यो चौंथो हार हो। ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ। यस सिजन कोलकत्तामाथि मुम्बईको यो लगातार दोस्रो जित हो। सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो। एजेन्सी

























