असोज २९ । खेतिको निगरानीका लागि गुगलले प्रोटोटाइप रोबोट सार्वजनिक गरेको छ। गुगलको मुख्य कम्पनी अल्फाबेटले प्रोजेक्ट मिनरल नामक परियोजना अन्तर्गत बाली तथा उत्पादनको निगरानी गर्न सक्ने खालको प्रोटोटाइप रोबोटको तयार पारेको हो।
उक्त रोबटले किसानहरुलाई बालीको उत्पादनमा सुधार गर्न सहयोग पुर्याउने उल्लेख गरिएको छ। गुगलले सार्वजनिक गरेको रोबटको प्राटोटाइप अनुसार उक्त रोबटहरु सामान्य रोबटको तुलानमा केही अग्लो हुनेछ। यसले खेतमा लगाइएको बालीलाई कुनै असर नपुर्याई त्यसको अध्ययन र निगरानी गर्नसक्ने जनाइएको छ। साथै यसलाई बिरुवाको माथि पनि चलाउन सकिन्छ।
‘यसको लक्ष्य भनेको बालीहरू कसरी बढ्छन् भन्नेबारे विशाल डेटा संकलन गर्नु हो,’ गुगलको ब्लगमा प्रोजेक्टका प्रमुख इलियट ग्रान्टले भने, ‘यसले कृषि उद्योगलाई अझ बढी प्रभावकारी र धेरै उत्पादन गर्न मद्धत पुर्याउने छ।’
यसको मद्दतले विश्वको खाद्यान्नको बढ्दो आवश्यकता र खाद्यान्नको वृद्धिदरको स्थिरतालाई सम्बोधन गर्न सकिन्छ भन्ने योजना प्राजेक्टको रहेको छ। ‘यसले प्रत्येक बिरुवालाई अनुगमन गरी त्यसलाई आवश्यक पोषण दिन सक्छ भन्ने हो,’ ग्रान्टले भनेका छन।
उनले अगाडि भने, ‘यदि हामी बालीनाली उत्पादनको आनुवंशिक र वातावरणीय सुधारमा प्रगति गर्न सक्दछौं भने के हुन्छ ? हालका उपकरणहरूले किसानलाई आवश्यक हुने किसिमको जानकारी दिदैनन्। त्यसैले यसले ती आवश्यकतालाई पुर्ति गर्न सक्नेछ।’


























