काठमाडौँ, पुस १९ । सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो।
बैठकमा काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा।वेदुराम भुसालले जानकारी दिए।
एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको उनले जानकारी दिए।
एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार र कांग्रेसबाट तीन जना सांसद बिदा हुने क्रममा छन्। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ।
उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ।


























