काठमाडौं, असोज २० । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक भर्खरै सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले पार्टीमा परामर्श नगरी एक्लौटी ढंगले राजदूत नियूक्त गरेको भन्दै पार्टी सचिवालय बैठकमा छलफल हुने गरी बैठक सुरु भएको बताइएको छ।
राजनीतिक नियुक्तिका विषयमा सचिवालयले निर्णय गरेपछि मात्रै प्रधानमन्त्रीले नियूक्त गर्ने भनिएपनि गत बिहीबार बसेको मन्त्रिपरिषद्ले २ राजदूतको नियुक्ति गरेको थियो। प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी अमेरिकाका लागि नेपाली राजदूतमा डा.युवराज खतिवडा र बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई नियूक्त गरेका थिए।
सोही विषयलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत नेताहरु असन्तुष्ट भएका छन्। यस्तै मन्त्रिपरिषद पुर्नगठनका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने एक सचिवालय सदस्यले बताए। लामो समयदेखि अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छन्। प्रभावकारी काम गर्न नसकेका र विवादित मन्त्रीलाई समेत हटाएर नयाँ मन्त्री ल्याउने तयारी नेकपाको छ। यस्तै पार्टी एकताका बाँकी कामका विषयमा समेत छलफल हुने बुझिएको छ।


























