काठमाडौं, असोज १८ । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी-ट्वान्टी क्रिकेट स्थगित भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ।
चौंथो संस्करणको प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुने तालिका रहेको थियो। तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता तोकिएको समयमा आयोजना नहुने भएको छ। आयोजकले प्रतियोगिताको नयाँ मिति चाडै तोकिने समेत जनाएको छ।
‘हामीले चौथो संस्करण यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना गर्ने घोषणा यस अघि नै गरिसकेका थियौं,’ एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको छ। प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने जानकारी गराउँछौं।’
यस अघि प्रतियोगिता करिब ८ महिना सरेको थियो। सुरुवातमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो। तर, त्यस समय नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि प्रतियोगिताको सारिएको थियो। डीपीएलमा धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन्। गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो।
यस्तै प्रतियोगिता दौरान आयोजकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गरेका १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १/१ लाखबाट सम्मान गर्दै आईरहेको थियो।


























