काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए पार्टी विरोधमा उत्रिने चेतावनी दिएका छन्। मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे नेकपाभित्र छलफल चलिरहेका बेला पौडेलले आज सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्।
‘कर्मचारीको पेन्सन धान्न नसक्ने भइसकेको अवस्था छ। जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोरविरोधमा हामी उत्रने छौं,’ उनले भनेका छन्। उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएको आरोप पनि लगाएका छन्।
उनले फेसबुकमा भनेका छन्, ‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो। देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्। कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ। जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं।’


























