असोज ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। वेस्ट ब्रुमको मैदानमा ३ गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीले बराबरी खेलेको हो।
चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले एक एक गोल गरे। वेस्ट ब्रुमका कलुम रोबिनसनले दुई गोल गर्दा केली बार्टलीले एक गोल गरे।
रोमान्चक बनेको खेलको पहिलो हाफमा वेस्ट ब्रुमले तीन गोल गरेको थियो। चौंथो मिनेटमा रोबिनसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।चेल्सीका कप्तान तथा डिफेन्डर थियागो सिल्भाको गल्तीको फाइदा उठाउदै २५ औं मिनेटमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए। २७ औं मिनेटमा केलीले गोल गर्दा पहिलो हाफमै वेस्ट ब्रुम ३(० ले अघि रह्यो। तर, दोस्रो हाफमा फ्रान्क लाम्पार्टको चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो।
५५ औं मिनेटमा माउन्टले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए। ७० औं मिनेटमा हुडसनले गोल गर्दै चेल्सीलाई ३-२ को अवस्थामा ल्याए। त्यसपछि खेलको इन्जुरी समय अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए।
बराबरीसँगै चेल्सीले ३ खेलमा ४ अंक जोडेको छ। चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ। चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३-१ ले हराएको थियो। तर, दोस्रो खेलमा चेल्सी लिभरपुलसँग २-० ले पराजित भएको थियो। वेस्ट ब्रुमको यो पहिलो अंक हो। वेस्ट ब्रुमले ३ खेलमा १ अंक जोडेको छ। वेस्ट ब्रुमले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। एजेन्सी


























