असोज ४ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ। प्रिमियर लिगमा आइतबार साविक विजेता लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।
स्टामफोर्ड ब्रिजमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छ। दुबै टिम लगातार दोस्रो जित निकाल्ने योजनामा समेत हुनेछ। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। साविक विजेता लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको थियो।
चेल्सीले भने ब्राइटनलाई ३-१ ले हराएको थियो। सुखद सुरुवात गरेको दुबै टिम उक्त लयलाई कायम राख्न चाहन्छ। तर, चेल्सीलाई भने खेलाडीको चोटले सताउने छ। डिफेन्डर थियागो सिल्भा, वेन चिलवेल, हाकिम जियाच र क्रिस्टियन पुलिसिचले लिभरपुलसँग खेल्ने छैनन्। तर, काइ हाभार्ट्ज, टिमो वेर्नेरले लिभरपुलविरुद्ध खेल्ने छन्।
लिभरपुललाई भने चोटको समस्या छैन। शुक्रबार अनुबन्धित भएका मिडफिल्डर थियागो अलाकान्टराले डेब्यु गर्ने सम्भावना रहेको छ। प्रिमियर लिग अन्तर्गत नै आइतबार लेष्टर सिटीले बर्नलीसँग खेल्नेछ। त्यस्तै टोटेनहमले साउथह्याम्पटन तथा न्युकासलले ब्राइटनसँग खेल्नेछ। एजेन्सी


























