असोज ४ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो खेलमा आज (आईतबार) दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ। दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ। दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर रहेका छन्। सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन्। उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन्। सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ।
किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ। दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन तर दिल्लीका स्पिनर युएईको मैदानमा भारी पर्ने आँकलन छ। दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शा सहित ऋषभ पन्त, शिखर धवन सहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन्। पञ्जाबमा क्रिस गेल सहित ग्लेन म्याक्सवेल जस्ता ठुला सट प्रहार गर्ने खेलाडी रहेका छन्। उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो। एजेन्सी


























