भदौ २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति चेल्सीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ।
बलियो टिम चेल्सीले ब्राइटनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।
समर ट्रान्सफरमा स्टार खेलाडीहरु अनुबन्ध गर्न सफल चेल्सी सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
चेल्सीले यस सिजन जर्मनीका युवा स्टार टिमो वेर्नेर र काइ हाभर्ट्ज अनुबन्ध गरेको छ।
स्ट्राइकर वेर्नेर र अट्याकिङ मिडफिल्डर हाभर्ट्जले ब्राइटनविरुद्ध डेब्यु गर्ने छन्।
फ्रान्क लाम्पार्डले यस सिजन हाकिम जियाच, बेन चिलवेल र थियागो सिल्भालाई पनि अनुबन्ध गरेको थियो।
तर, जियाच र चिलवेल चोटका कारण र सिल्भा कमजोर फिटनेसको कारण पहिलो खेलमा मैदान उत्रने छैनन्।
क्रिस्टियन पुलिसिच र सिजर एज्प्लिक्युएटा भने चोट मुक्त भएका छन्।
ब्राइटन पनि सिजनको पहिलो खेलमा सुखद नतिजा निकाल्न चाहन्छ। तर, बलियो र मजबुत टिम चेल्सीलाई रोक्न घरेलु टोलीलाई कठिन हुनेछ।
चेल्सीविरुद्ध ब्राइटनले एडम लालनालाई मैदान उतार्ने छ। अट्याकिङ मिडफिल्डर लालनालाई ब्राइटनले लिभरपुलबाट अनुबन्ध गरेको हो।
यस्तै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडसँग खेल्दै सिजनको सुरुवात गर्नेछ।
सेफिल्डको मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ।
दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्। एजेन्सी


























