काठमाडौं, भदौ २९ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गरेका छन्। आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको जनाइएको छ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गरेका थिए।
नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताएका थिए। उनले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर-व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले हाम्रो सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राखेका थिए।
अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिए। ‘कोरोना भाइरसको महामारीको कारण संसारमा नयाँ चुनौती सिर्जना भएको छ। यसले हाम्रा दुई देशहरूलाई पनि असर गरेको छ,’ उहाँले भन्नुभयो, ‘पारस्परिक साथ र सहयोगले हामीलाई यस महामारीविरुद्ध लड्न मद्दत गर्दछ।’
अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै उनले पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्तासमेत गरेका छन्।
भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धिका पक्ष रहेको उल्लेख गरेका थिए। दुई देशको संसदबीचको सहकार्य बढाउनुपर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने धारणा उनको थियो।
‘यहाँको पाकिस्तान भ्रमणका लागि हाम्रो सिनेट अध्यक्षले निमन्त्रणा गरिसक्नुभएको छ,’ उनले भनेका थिए, ‘पाकिस्तान संसद् यहाँको स्वागतको प्रतीक्षामा छ।’


























