काठमाडौं, भदौ १८ । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ।
बिहिबार क्यानले मुख्य प्रशिक्षक सहित विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गरेको हो।
क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको बिज्ञापन खुल्ला गरेकाे छ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्वय गर्दै रिक्त रहेको पदमा बिज्ञापन खुलाएकाे हाे।
यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।
तर आईसीसीको प्रक्रियामा ढिलाई भएकाे कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि बिज्ञापन खुलाएकाे हाे।
इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै सेप्टेम्बर २३ भित्र क्यानमा पत्राचार गरिसक्नु पर्नेछ।
नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ। क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ।
क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने निर्णय लिएको थियो।
गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिज लगत्तै नेपाली टिम मुख्य प्रशिक्षक विहिन छ। तत्कालिन प्रशिक्षक उमेस पटवालले समय अवधि नसकिंदै राजीनामा दिएर स्वदेश फर्किएसंगै सो पद रिक्त अवस्थामा छ।
क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आईसीसीसको सहमतिमा पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षकमा अनुबन्धित भएका थिए। तर उनले आफ्नो सम्झौताको समय अवधि नसकिदै राजिनामा दिए।
सम्झौता अवधि सकिन झन्डै ३ महिना बाँकी रहँदा पटवालले तलबको विषयमा असन्तुष्टि देखाउँदै आईसीसीमा राजिनामा बुझाएका थिए।
कस्ता प्रशिक्षकले दर्खास्त दिन सक्छन् ?
– इंग्ल्याण्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले
– आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्र वा अन्तराष्ट्रिय लिगमा तीन वर्ष प्रशिक्षकको भूमिका निभाएकाले
– क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेकाले
– ६० वर्ष ननाघेका पुरुषले


























