भदौ १८ । ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ।
ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएको हो।
संघका अध्यक्ष रोजरिया काबोकोले यसबर्षको मार्चबाट निर्णय कार्यान्वयनमा आएको बताएका छन्।
‘यो बर्षको मार्चबाट पुरुष तथा महिला फुटबलको दैनिक भत्ता तथा पुरस्कारमा समान मुल्य बनाइएको छ।’ उनले भनेका छन्।
‘राष्ट्रिय टिममा रहँदा खेलाडीले समान रुपमा कमाई गर्नेछन्। पुरुषले प्राप्त गर्ने रकम सरहनै महिलाले समेत प्राप्त गर्नेछन्।’ उनले थपे।
अध्यक्ष काबोकेले संघले गरेको निर्णय अन्तराष्ट्रिय प्रतियोगिताहरु विश्वकप र ओलम्पिकमा समेत लागू हुने बताएका छन्।
‘कुनै लैङ्गिक विभेद हुने छैन। ब्राजिली फुटबल संघले महिला तथा पुरुषलाई बराबरी रुपमा मान्नेछ।’ उनले भने।
‘अर्को बर्ष ओलम्पिकमा जित हासिल गरेपनि उनीहरुसंग त्यही हुनेछ, जो पुरुषहरुले पाउनेछन्।’ उनले थपे।
अष्ट्रिया, नर्वे तथा न्युजिल्याण्ड सहितका धेरै देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन्।
ब्राजिली महिला टिमले मार्चयता खेलेको छैन। कोरोना भाईरसको महामारीका कारण अन्तराष्ट्रिय प्रतियोगिता स्थगित हुँदा राष्ट्रिय टिमले कुनै प्रतिस्पर्धा गर्न पाएको छैन। एजेन्सी

























