काठमाडौं, भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पनि छलफल भएको छ। उनीहरूबीच बिहान १० बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको बालुवाटार स्रोतले जानकारी दियो।
भेटमा अध्यक्ष प्रचण्डले कार्यदल गठनपछिका नियुक्ति, सिफारिस बदर गर्न भनेको स्रोतको दाबी छ। जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताएको स्रोतको दाबी छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। भण्डारीको नियुक्ति अदालतले नै बदर गरिदिइसकेको छ।
यसबाहेक थुप्रै नियुक्तिका निर्णय भएको स्रोतको दाबी छ। आजको भेटमा प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने बताएको स्रोत बताउँछ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नियुक्ति खारेज गर्न माग गर्दै प्रचण्डमार्फत दबाब बढाएका छन्।


























