प्रकाश सिलवाल,
काठामाडौं, पुस १८। राजधानी काठमाडौँलगायत मुलुकका अधिकांश भागमा शुक्रबार बिहानैदेखि वर्षा भएको छ। वर्षासँगै ह्वात्तै चिसो बढेको छ। चिसोका कारण हरेक परिवारमा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ। चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ।
बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ। पाटन अस्पतालका बाल विशेषज्ञ डा भीष्म पोखरेल चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा भएकाले न्यानो पारेर राख्न सुझाव दिन्छन्। ‘पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ,’ उनले भने, ‘पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडावान्तको बढी समस्या देखिन्छ तर सम्हाल्नै नसक्ने स्थिति भने छैन।’
चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ हुन सक्ने भएकाले त्यसबाट बच्न उनको सुझाव छ। ‘रोटा भाइरस’ को खोप निःशुल्क दिने नेपाल सरकारको सूचीमा परेपनि हालसम्म उपलब्ध भइसकेको छैन। डा पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्दै घरका झ्याल ढोका थुनेर कोइला बाल्दा ‘कार्बन मनोक्साइड’ हुन सक्ने बताए।
दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउन र दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिन पनि उनले सुझाव दिए। ‘घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई तिनबाट परै राख्नुपर्छ, भीडभाडमा राख्न हुँदैन,’ उनले भने। शुक्रबार मात्रै पनि ३०/४० जना चिसोबाट असर खेपेका बालबालिकालाई परीक्षण गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका ‘बाल सर्जन’ डा दिनेश कोइरालाले बालबालिकालाई मुख्यगरी टाउको दुख्न सक्ने भएकाले जोगाउन आग्रह गरेका छन्।
पाँच वर्षसम्मका बालबालिकाको विकासको क्रममा टाउको ठूलो हुने भएकाले उनीहरुको तातो क्षयीकरण (हिट लस) हुन सक्ने भएकाले छातीका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाउन र पसिना आएमा समय समयमा कपडा परिवर्तन गर्न आवश्यक रहेको अनुभव सुनाए।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना छ।
जाडो मौसमका लागि अधिकांश विद्यालयले आइतबारदेखि तीन सातासम्मका लागि विद्यालयमा बिदासमेत दिँदैछन्। जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरु खेलेर आलो वा हिटरमा पर्न सक्ने भन्दै उनले घरबाहिर हिँडाउँदा बालबालिकाहरुलाई शरीर पूरै छोप्ने र पानीमा नभिजाउन अत्यावश्यक भएको बताए।
‘चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सक वा स्वास्थ्य संस्थामा लैजानुपर्छ,’ उनले भने, ‘चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्ने हुन्छ। त्यसले आन्द्रामा असर पुर्याउन सक्छ।’ उनले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गरे।
अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्न सक्ने र उनीहरुको छालामा बोसो कम हुने हुँदा चिसोले चाँडै भेट्टाउने र दम बिग्रिएमा निमोनिया हुन सक्ने उनको भनाइ छ। वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले पनि आग्रह गरेको छ। महाशाखका अनुसार शुक्रबार काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस छ भने डडेल्धुरको न्यूनतम माइनस १ दशमलव ५ र अधिकतम ३ दशमलव ८ डिग्री सेल्सियस छ। – रासस