चितवन, भदौ ४ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरियो। महानगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या सय पुग्नै लाग्दा मेयर रेणु दाहालकै अग्रसरतामा निषेधाज्ञा जारी गरियो। उनले जारी गरेको विज्ञप्तिअनुसार नै महानगर अहिले सुनसान छ।
भदौ २ गते महानगरले अर्को विज्ञप्ति जारी गर्यो, ‘हरितालिका तीजको शुभकामना’ व्यक्त गरेर। मेयर दाहालले नै निकालेको विज्ञप्तिमा ‘नगरवासीलाई घरघरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दुरी कायम गरी तीज पर्व मनाउन विनम्र अनुरोध गर्दछु’ भनिएको छ।

महानगरको सूचनाका आधारमा नगरवासी आ–आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन्। आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले जरिबाना तिराउने गरेको छ। चितवन प्रहरीले सडकमा हिँड्नेबाट पाँच लाख रुपैयाँभन्दा बढी जरिबाना असुल गरिसकेको छ।
तर मेयर दाहाल आफू भने सुटुक्क माइत पुगेकी छन्। नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू भने सुटुक्क माइत पुगेको भन्दै महानगरभित्र उनको आलोचना भइरहेको छ। उहाँ माइत पुगेर ‘तीज विशेष छोरीहरुको साथ’ भन्दै फेसबुकमा तस्बिर आफैले पोस्ट गरेपछि कमेन्टमा समेत आलोचना भएको छ।

भरतपुर महानगरमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन। सङ्क्रमण बढ्दो छ। एकातिर निषेधाज्ञाले नागरिक घरमै उकुसमुकुस छन्। भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको बेड भरिएर कहाँ राख्ने भन्ने पिरलो छ। महानगरमै बसेर समस्या समाधान गर्न पहल गर्नुपर्ने समयमा प्रमुख दाहाल तीजको रमाइलो मान्न माइत पुगेकी छन् र सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकी छन्।
महानगरभित्र लगाइएको निषेधाज्ञाका कारण पैदल हिँड्ने समेत जरिबाना तिर्न बाध्य छन्। कोरोना सङ्क्रमण बढ्दै गएका कारण त्रास बढ्दै गएको छ। ४ गते काठमाण्डौ जानुभएको मेयर दाहाल ७ गते मात्र चितवन फर्कने कार्यक्रम छ। मेयर काठमाण्डौ पुगेको जानकारी दिँदै महानगरले उनको अनुपस्थितिमा पनि महत्त्वपूर्ण काम नरोकिने बताएको छ।
आफै कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएकी दाहाल पीसीआर परीक्षण गरेर माइती (काठमाण्डौ) पुगेकी हुन्।
मेयर दाहालले बिहीबार दिउँसो फेसबुकमा पारिवारिक फोटो पोस्ट गरेपछि त्यसमा कमेन्ट गर्ने कतिपयले महानगरमा निषेधाज्ञा गरेर आफू अन्त हिँडेको भन्दै आलोचना गरेका छन्।
सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक छ वटा पालिकामा निषेधाज्ञा लागू गरिएको छ। भरतपुर महानगरपालिकाले अरु पाँच पालिकाभन्दा अगाडि नै महानगर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो। उज्यालो अन्लाईनबाट


























