भदौ ३ । पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ।
जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो।
पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले। उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे।
खेलको १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्होसले हेडमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डी मारियाले पीएसजीलाई २–० ले अघि बढाएका थिए। डिबक्सभित्र नेयमारले मिलाएको पासमा डी मारियाले पोस्टको दिशा दिएका थिए।
५६ औं मिनेटमा उनै डी मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए।
नेयमार र एम्बापे जर्मन क्लबको कडा निगरानीमा पर्दा मारियाले त्यसको फाईदा उठाएका थिए। दुवैको उत्कृष्ट प्रर्दशनमा पीएसजीले क्वार्टरफाईनलको खेलमा एटलान्टाबिरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो।
युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो।
च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनलमा स्थान सुरक्षित गरेको हो। फ्रान्सेली क्लबलको उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ। एजेन्सी


























