भदौ ३ । अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइताले राजीनामा दिएका छन्। मंगलबार सुरक्षाकर्मीले उनलाई सैन्य कूको प्रयासमा बन्धक बनाएका थिए।
त्यसपछि राष्ट्रपति केइताले राजीनामा दिएको मालीको सरकारी टेलिभिजनले जनाएको बिबिसीले उल्लेख गरेको छ।
टेलिभिजन मार्फत गरेको सम्बोधनमा राष्ट्रपति केइताले सरकार तथा संसद भंग गरेको घोषणा पनि गरेका छन्। उनले भनेका छन्, ‘म सत्तामा रहिरहनका लागि रगत बगोस् भन्ने चाहन्नँ।’
राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएका हुन्।
मालीका सैनिकमा पारिश्रमिकलाई लिएर आक्रोश छ। यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग पनि सैनिक असन्तुष्ट रहेका छन्।
सैनिकले मंगलबार आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ।


























