काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधान गर्न गठन गरिएको कार्यदलका बारेमा भ्रमात्मक प्रचार नगर्न आग्रह गरेका छन्।
दुई अध्यक्षले पार्टी भित्रका समस्या समाधान गर्नका लागि गृहकार्य गर्न कार्यदल गठन गर्नु सकारात्मक भएको भन्दै यसले पार्टीमा सकरात्मक संदेश पनि दिएको उनले बताएका छन्।
प्रवक्ता श्रेष्ठले पार्टी भित्र केही बिषयमा कुनै छलफल, बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त नहुने भन्दै पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गर्न समेत आग्रह गरेका छन्।
उनले भनेका छन्- हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ। यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।
मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी सँकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के क को निर्णय अनुसार महाधिवेशनको तयारी। पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ।
कार्यदलले तात्कालिन रुपमा कोभिड-१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततस् राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक/आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ।
यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ।
यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।
तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन। बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ।


























