काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारका तीनै तहलाई सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन आग्रह गरेको छ। आयोगमा प्रवक्ता वेदप्रसाद भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गरे।
आयोगले उक्त विषयमा सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन सङ्क्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौंँलगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिमा सङ्क्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीय तहलाई थप सजगता अपनाउन मद्दत मिल्ने देखिएको आयोगले जनाएको छ। – रासस


























