काठमाडौं, साउन २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले ५ दिनमै सहमति हुने श्रृंखला आजैदेखि सुरु भएको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले ५ दिनमै सहमति हुने अभिव्यक्ति दिएपछि संवाद सुरु भएको नेम्वाङले बताए। ‘दुई अध्यक्षबीच विगत ९ दिनदेखि संवाद हुन सकेको थिएन। एक ढंगले संवादहीनताको अवस्था थियो,’ नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यूले ५ दिनमै सहमति हुन्छ भन्नेबित्तिकै आजबाटै संवाद सुरु भयो। अहिले दुई अध्यक्ष बालुवाटारमा छलफल गरिरहनुभएको छ।’
अध्यक्ष ओली र प्रचण्ड संवादमा बस्नु नै सहमतिको ढोका खुल्ने अवस्थातिर जाने अर्थमा नेम्वाङले व्याख्या गरे। ‘दुई अध्यक्षज्यू संवादमा बस्नु सकारात्मक हो। सहमतिका लागि नै दुई जना संवादमा बस्नु भएको छ’ नेम्वाङले भने, ‘सहमतिको कुनै मोडेल ल्याउनु होला।’
यसअघि प्रधानमन्त्री ओली पक्षबाट नेम्वाङ तीन दिनसम्म संवादमा बसेका थिए। उता प्रचण्ड पक्षबाट वरिष्ठ नेता झलनाथ खनाल बसेका थिए। ओली–प्रचण्ड दुवै पक्षले गत साउन १८ गतेदेखि तीन दिन लगातार छलफल गरेका थिए।


























