काठमाडौं, साउन २९ । नौ दिनपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
बालुवाटार स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो।
यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो।
पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो। प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए।
अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन।
पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ। बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए। स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल–नेपाल समूहको बहुमत छ।
यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ।
दुवै पद नछाड्ने ओलीको अडान छ। स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ। एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ।
साउन १३ मा दुवैले चालेको कदमपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ।


























