काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँने विश्वास व्यक्त गरेकी छन्।
नेपाल-चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठको उपलक्ष्यमा चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाउँदै भण्डारीले राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन्।
शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन्।
सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना पनि गरेकी छन्।
चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरिन्।
नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा उनले चीन सरकारको सह्राना पनि गरेकी छन्।


























