काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले मुलुकको आर्थिक विकास, रोजगारी र व्यवसाय मैत्री वातावरण निर्माणमा महत्वपूर्ण काम गरे पनि त्यसलाई आम जनतालाई बुझाउन नसकेको बताएका छन्।
नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिसँगको छलफलमा वरिष्ठ नेता पौडेलले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारेपनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको उल्लेख गरे।
‘नेपाली कांग्रेसले समृद्ध राष्ट्र निर्माण गर्न, जनतालाई सम्पन्न बनाउन उद्यम, रोजगारी र पूर्वाधार विकासमा धेरै काम गरेको छ। आर्थिक उदारीकरणले निजी क्षेत्रको विस्तार सम्भव भएको हो। नेपाली कांग्रेसले बाहेक अरु कसैले पनि निजी क्षेत्रको भावना कसैले बुझ्न सक्दैन,’ नेता पौडेलले भने, ‘तर कमजोरी के भयो भने नेपाली कांग्रेसले गरेको काम पनि जनतालाई बुझाउन सकेन, अरु नारा मात्रै बेचेर सत्तामा गए।’
नेता पौडेलले नारा, सपना र झुट बेचेर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टीले कुनै पनि जनपक्षीय काम गर्न नसकेर नाङ्गिदैं गएकाले मुलुकको प्रमुख प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले मात्र देश र जनताका आवश्यकता सम्बोधन गर्न सक्ने बताए। ‘कांग्रेसमा पार्टी बलियो बनाउने, जनताको मन जित्ने भन्दा पनि पार्टीभित्रको गुटगत राजनीति त्यागेर बलियो नेपाली कांग्रेस पार्टी निर्माण गर्नुपर्छ,’ उनले भने, ‘नेपाली कांग्रेसले तृणमुल तहका जनतादेखि श्रमिक, पेशाकर्मी, व्यवसायी, विज्ञ सबैलाई साथमा लिएर अघि बढ्नेछ।’ वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिले मुलुकमा लगानीको वातावरण बनाउन, रोजगारी सिर्जना गर्न आवश्यक पहल गर्न आग्रह गर्दै मुलुकको समावेशी र समन्यायिक विकासको आवश्यकता औंल्याए।


























