राजविराज । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि सिरहा रोड ‘सिल’ गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाे भन्दै सिरहा रोडलाई ‘सिल’ गरिएको हाे। राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी ‘सिल’ गरिएको उनले बताए।
पछिलो पटक स्वाब परीक्षणपछि राजविराज–६ कै एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि थप सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल ‘सिल’ गर्नुपरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए। पछिल्लो रिपोर्टअनुसार राजविराज–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको थियाे।
जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका लागि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। सप्तरी जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४१८ पुगेको छ। यसमध्ये २८६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले जानकारी दिए। – रासस


























