काठमाडाैं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुनेकाे संख्या ७० प्रतिशत नाघेकाे छ। शनिबार साँझसम्मकाे तथ्यांकअनुसार नेपालमा कुल संक्रमितकाे ७० दशमलव ६२ प्रतिशत बिरामी काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १८ हजार १८३ जना संक्रमितमध्ये शनिबारसम्ममा १३ हजार ५३ जना कोरोना मुक्त भएका छन्।
प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार ६ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएका छन्। प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा नयाँ १०९ सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा गाैतमले जानकारी दिए।
विभिन्न २७ प्रयोगशालामा गरिएको चार हजार ७५ नमूना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको उनले बताए। शनिबार सबैभन्दा धेरै बढी डोटीमा २६ सङ्क्रमित थपिएका छन्। सप्तरीमा ११, पर्सा र डडेल्धुरामा आठ/आठ, कपिलवस्तु र जाजरकोटमा छ/छ, दाङमा पाँच, पाल्पा, रौतहट र नवलपरासी पूर्वमा चार/चार, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा तीन/तीन, काठमाडौँ, बाँके, बर्दिया र मुगुमा दुई/दुई तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एक/एक जनामा सङ्क्रण पुष्टि भएको छ।
मुलुकभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ३८५ सङ्क्रमितको उपचार भइरहेको छ। थप एकको मृत्यु पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। बाराको परवानीपुर गाउँपालिका–८ निवासी १७ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए। सङ्क्रमित युवतीमा कोरोनाका लक्षण देखिएको मन्त्रालयले जनाएको छ। युवतीमा अक्सिजनको मात्रा कम देखिएको, पखला लागेको, जीउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको उनले बताए। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ। – रासस


























