साउन १० । इंग्लिस प्रिमियर लिग फुटबलको यस सिजन अन्त्यतिर आईपुगेको छ।
कोरोना भाईरसको कारण करिब तीन महिना अवरुद्ध प्रिमियर लिगमा अब एक चरणको खेलहरु मात्र बाँकी रहेको छ।
प्रिमियरको २०१९/२० को सिजन भोलि (आइतबार) सकिदैछ। आइतबार प्रिमियर लिगमा अन्तिम १० खेल एकै समयमा हुनेछ।
यस सिजनको उपाधि भने लिभरपुलले जितिसकेको छ। लिभरपुलले ३० वर्षपछि उपाधि जितेको हो।
प्रिमियर लिगको उपाधिपछि चर्चामा आउने अर्को विषय हो, गोल्डेन बुट। अर्थात् सर्वाधिक गोलकर्ता।
सिजनको सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउने छन्।
अन्य सिजन झैँ गोल्डेन बुटको दौडमा यस सिजन पनि धेरै खेलाडी रहेका छन्।
गोल्डेन बुटको दौडमा यस सिजन लेष्टर सिटीका फरवार्ड जेमी भार्डी शीर्षमा रहेका छन्।
भार्डीले यस सिजन २३ गोल गरिसकेका छन्। त्यसैले उनलाई सर्वाधिक बलियो दाबेदार मानिएको छ।
लेष्टरले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ। अन्तिम खेलमा गोल गर्न असफल भएपनि भार्डीले गोल्डेन बुट जित्ने सम्भावना बलियो रहेको छ।
किनकी भार्डी दोस्रो स्थानमा डानी इन्ग्स भन्दा २ गोलले अघि रहेका छन्।
साउथह्याम्पटनका डानीले २१ गोल गरेका छन्। अन्तिम खेलमा साउथह्याम्पटनले सेफिल्डसँग खेल्दैछ। भार्डीलाई जित्न अन्तिम खेलमा उनले ह्याट्रिक गर्नु पर्नेछ।
यस्तै तेस्रो नम्बरमा आर्सनलका पेरिक एम्रिक आबुमियाङ रहेका छन्। उनले लिगमा २० गोल गरिसकेका छन्।
गोल्डेन बुटका दाबेदारमा लिभरपुलका मोहमद सलाह पनि एक हुन्। चौंथो स्थानमा रहेका उनले १९ गोल गरेका छन्।
त्यस्तै म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङलाई पनि उपाधिको दाबेदार मानिएको छ। उनले १९ गोल गरेका छन्।
त्यसबाहेक लिभरपुलका साडियो माने, उल्भ्सका राउल जेमिनेज, म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियल, मार्कस राष्फोर्ड र टोटेनहमका ह्यारी केनले समान १७/१७ गोल गरेका छन्।
गत सिजन भने तीन खेलाडीले उपाधि बाडेका थिए। गत सिजन मोहमद सलाह, साडियो माने र पेरिक एम्रिक आबुमियाङले उपाधि बाँडेका थिए। एजेन्सी


























