चितवन, साउन ९ । चितवनमा किसानले पालेका गाईमा नयाँ रोगको संक्रमण देखिएको छ। अफ्रिकन रोग भनेर चिनिने लम्पी स्क्रिन डिजिज भाईरस जिल्लाको राप्ती नगरपालिकामा देखा परेको हो।
१६ दिन अघि राप्ती ८ का किसान रामजी अर्यालको गाईबाट यो रोग देखा परेको राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले जानकारी दिए। अर्यालको गाईमा सुरुमा देखिएपनि अहिले राप्ती नगर भरिनै रोग फैलिएको भण्डारीले बताए।
संक्रमण देखिएका गाईहरुको छाला तथा कल्चौडामा डावर आउने,खानेकुरा नखाने,नाकबाट सिंगान आउने,उच्च ज्वरो आउने समस्या देखिएको प्रमुख भण्डारीले जानकारी दिए। वर्खा लागेको बेला यो रोग देखिने भएपनि नेपालमा पहिलो पटक यस्तो समस्या देखिएको उनको भनाइ छ। ‘गाईमा यस्तो समस्या नेपालमा पहिलो हो। अफ्रिकन मुलुकमा देखिएपनि नेपालमा भित्रिएको थिएन,’ पशु सेवा शाखा प्रमुख भण्डारीले भने।
राप्तीमा एउटा गोठमा ५० प्रतिशत गाईमा यो भाईरसको संक्रमण देखिएको छ। यो भाईरसको उपचार नहुने भएकाले गोठ सफा सुग्गर राख्नुपर्ने पशु चिकित्कस भण्डारीको सुझाव छ। भाईरसका कारण संक्रमण देखिएका गाईहरुलाई छुट्टै राख्न समेत उनको आग्रह छ।
संक्रमण फैलिने क्रममा रहेपछि राप्ती पशु सेवा शाखाले नमुना संकलन गरेर काठमाडौं परिक्षणका लागि पठाउँदै छ। नगरका विभिन्न स्थानबाट ३५ वटा नमुना संकलन गरिएको छ। रगतको १७, सिंगानको १५ र पिपको ३ वटा नमुना संकलन गरेर केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउन लागिएको भण्डारीले बताए।
यो रोगका कारण अहिलेसम्म गाईको मृत्यु नभएपनि संक्रमण व्यापक बन्दै गएको छ।


























