काठमाडौं, साउन ५ । सत्तारुढ नेकपाभित्र देखिएको विवादमा राष्ट्रपति विद्यादेवि भण्डारीको सक्रियता र चासोलाई लिएर चिन्ता व्यक्त हुन थालेको छ।
नेकपाका हरेका बैठक अघि र पछि दलका नेताहरु शीतल निवास पुग्ने र पार्टीका गतिविधिमा अप्रत्यक्ष रुपमा भूमिका खेलेको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।
सोमबार बिहान ट्वीटमार्फत कोइरालाले राष्ट्रपति पद राजनीतिक व्यक्ति नभएकाले दलभित्रको गतिविधिमा सहभागी हुनु आश्चर्यजनक रहेको उल्लेख गरेका छन्। उनले साझा र सम्मानित संस्थाको गरिमा राख्न पनि आग्रह गरेका छन्।
‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ’, कोइरालाले भनेका छन्।
शनिबार साँझ बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगातका नेता शीतल निवास पुगेर छलफल गरेका छन्।
छलफलमा ओली र दाहालले नेकपा बैठकमा भएका विषय राष्ट्रपति भण्डारीलाई ब्रिफिङ गरेका थिए। पार्टीभित्रको आन्तरिक विवादमा यसअघि पनि पटक पटक मुछिदै आएकी भण्डारीको शनिबारको चासोप्रति नेकपाभित्रै प्रश्न उठ्यो।
भण्डारीले पनि दुई नेतालाई मिलेर अघि बढ्न दबाब दिइको दाहाल स्वयमले स्वीकार गरेका छन्।
अध्यक्ष दाहालले नै आफू परिबन्दमा परेर शीतल निवास पुगेको बताए पनि राष्ट्रपति थप विवादमा तानिएकी छिन्। उक्त विषय देश र लोकतन्त्रकै लागि घातक हुने चेतावनी नेता कोइरालाले दिएका छन्।
उनले ट्वीरटमा लेखेका छन्, ‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो।’
यस्तै कांग्रेसकै नेता रामहरि खतिवडाले पनि नेकपा विवादमा राष्ट्रपतिको सक्रियता अस्वभाविक भएको बताएका छन्। उनले ट्वीटमा व्यंग्त्मक शैलीमा प्रश्न गरेका छन्, ‘नेकपाको स्थायी अध्यक्षको निवास शीतल निवास हुने भो ?’


























